थारू समुदायमा माघी

सूचनापत्र | माघ ०१, २०७४ | १७७ पटक हेरिएको

थारू समुदायमा माघीको रौनक

तुलसीपुर,

थारू समुदायमा माघीको रौनक बढेको छ। माघीलाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्छन्। पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा माघीको चहलपहल बढेको छ। पुस अन्तिमदेखि माघ मध्यसम्ममा थारू समुदायले माघी पर्व मनाउछन्।

माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको थारू अगुवा चूर्णबहादुर चौधरीले बताए। माघीलाई थारू समुदायमा आ-आफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको चौधरीले बताए।

‘माघी आएसँगै थारू गाउँमा चहलपहल बढेको छ’, थारू अगुवा चौधरीले भने, संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ।’ मुक्तिको पर्वको रूपमा हेरिने माघी स्वतन्त्रताको अनुभूति गरेर धुमधामका साथ मनाउने गरिएको उनले बताए।

कामबाट मुक्त भएर तथा स्वतन्त्र रूपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसका रूपमा पनि थारू समुदायले हेर्ने गरेको छ चौधरीले भने। माघी थारू समुदायको चाड मात्रै नभएर उक्त दिन नयाँ रीति थिति, नयाँ अगुवा (भल्मन्सा, मतहवा, बरघर) चुनिने चौधरीले जानकारी दिए।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीमा यहाँ अझ विशेष महत्वका साथ माघी मनाइन्छ। गाउँका अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरका लागि कसलाई के जिम्मेवारी दिने, घरको मुली को बन्ने ? लेनदेन घर सल्लाहलगायत विषयमा छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि थारू समुदायले लिने गरेको तुलसीपुर ६ मोतिपुरका थारू अगुवा प्रेम चौधरीले जानकारी दिए।

थारू समुदायमा पुस अन्तिमदेखि माघीको प्रभाव देखिने गर्दछ। अहिले थारू गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, पिसान कुटान, रंगरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका विभिन्न परिकार निमार्ण गरिएको छ। माघीकै अवसरमा दाङको रिहार, बाह्रकुने, बर्दियाको ठाकुरद्वारा, कैलालीको बेहडाबाबालगायतका स्थानमा मेला लाग्ने गर्छ।

थारू समुदाय माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने गर्छन्। गाउँभरका मानिस एकठाउँमा जम्मा भएर आगो बाली रातभर आगो तापेर रमाइलो गर्छन्। राति आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने, आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ।

२ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नियम बनाउने चलन छ। त्यसपछि केही दिन नाच गान गरी पर्व मनाउने चलन छ। माघीकै अवसरमा नाचिने माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायत नाचलाई नयाँ नीतिका साथ गाउँगाउँमा लगिन्छ। माघीकै अवसरमा घरघरमा नाचगान गरी दक्षिणा समेत उठाउने चलन रहेको थारू मतहवा बुदिराम चौधरीले जानकारी दिए।    Annapurna Post bat

प्रतिक्रिया दिनुहोस