देशैभर प्रदेश राजधानीमा लफडा

सुचनापत्र | पुष १९, २०७४ | १७३ पटक हेरिएको

काठमाडौँ ।

 सरकारले सात वटै अस्थायी राजधानी प्रस्तावित गरेपछि केही प्रदेशमा लफडा सुरु भएको छ । प्रदेश नम्बर १ को धनकुटादेखि प्रदेश ७ को दिपायलसम्ममा विरोध सुरु भएको हो ।

सरकारले प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषाको जनकपुर, प्रदेश ३ को भक्तपुरको ठिमी, प्रदेश ४ को कास्कीको पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कैलालीको धनगढीलाई अस्थायी राजधानी प्रस्ताव गरेको छ । १÷२ दिन भित्रै सरकारले मन्त्रिपरिषद्बाट औपचारिकरुपमा अस्थायी राजधानी, प्रदेश प्रमुख र प्रदेश सचिव तोकिँदैछ ।

विराटनगरलाई सरकारले अस्थायी राजधानी प्रस्ताव गर्ने कुरा सार्वजनिक भएपछि धनकुटाबासी आन्दोलित भएका छन् । प्रदेश १ को अस्थायी र स्थायी राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै त्यहाँका स्थानिय बासिन्दाले आमहड्ताल सुरु गरेका छन् । धनकुटाबासीले प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा समेत पटक पटक दबाबमूलक धर्ना दिइरहेका छन् ।

धनकुटा २४० वर्षअघि देखिको प्रशासनिक केन्द्र हो । वि.सं. १८४० देखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रुपमा स्थापित धनकुटा राणाकालीन समयमा बडाहाकिम कार्यालय हँुदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहँदै आएको छ । पूर्वाधार पनि धनकुटाबासीले तयारी गरेका छन् । करिब ४८ हजार रोपनी सरकारी र ३ सय ९४ वटा सरकारी कार्यालयका भवनहरु छन् । सुरक्षा, ऐतिहासिक पक्ष, भौतिक पूर्वाधार तथा प्रदेशको केन्द्र हिसाबले समेत धनकुटा नै उपयुक्त भएको धनकुटाबासीले भनाइरहेको छ ।

प्रदेश १ को प्रादेशिक राजधानीका लागि सुनसरीको इटहरी र धरान राजधानीको लविङ भइरहेको छ । प्रदशे ७ को राजधानी सन्दर्भका समेत लफडा सुरु भएको छ । पहाड र तराई कहाँ राजधानी बनाउने भन्ने विषयमा त्यहाँ विवाद छ । डोटीबासीले राजधानीको लागि दिपायल उपयुक्त रहेको भन्दै अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् ।

दिपायल साविकको सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम हो । अन्य पहाडी जिल्लाको हकमा पनि दियापल उपयुक्त हुने डाटीबासीको तर्क रहेका छ । प्रदेश नम्बर ३ मा भक्तको ठिमी , काभ्रेको बनेपा र धुलिखेल, मकवानपुरको हेटौँडा र ललितपर कहाँ राख्ने भन्ने विषयमा विवाद छ ।

प्रदेश ५ मा दाङ, बुटवलका साथै नेपालगन्ज र कपिलबस्तुको विवाद रहेको छ । प्रदेश ४ को पोखरा र प्रदेश ६ को सुर्खेतका विषयमा भने करिबकरिब सहमति रहेको छ ।     अन्नपूर्ण पोष्टबाट साभार

प्रतिक्रिया दिनुहोस