बम विस्फोटमा मारिएका म्यादी प्रहरी विनोदको अन्त्येष्टि

सुचनापत्र | मंसिर १४, २०७४ | १३८ पटक हेरिएको

दाङ : मंगलबार तुलसीपुरमा बम विस्पोट हुँदा मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको बिहीबार चौधरी संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। उनको शव पहिले घरमा श्रद्धाञ्जलीका लागि राखिएको र बिहीबार नै तुलसीपुरको शितलघाटमा अन्त्येष्टि गरिएको हो। बिहान तुलसीपुर उपमहनगरपालिका १२ क्वाङ्गीस्थित उनको निवासमा श्रद्धाञ्जली दिन पुगेका दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसंग चौधरीका परिवारले विनोदलाई सहिद घोषणा गर्न र राज्यबाट राहतका लागि पहल गरिदिन आग्रह गरेका छन्। विनोदका ६८ वर्षीय बाबु खुशीराम चौधरीले परिवारको आर्थिक अवस्था कमजोर भएको बताउँदै बुढेसकालको सहारा छोरा गुमाउँदा ठूलो समस्या भएको बताए। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चौधरीका परिवारलाई २५ लाख रुपैयाँ राज्यले राहतस्वरुप उपलब्ध गराउने जानकारी दिएका छन्। विमा बापतको १५ लाख र राज्यले राहत स्वरुप उपलब्ध गराउने १० लाख गरी २५ लाख रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराइने बताए। ‘राज्यको लागि प्राण त्याग गर्ने विनोद पहिलो म्यादी प्रहरी हुन्, त्यसैले राज्य र प्रहरी संगठनले समेत यथोचित सम्मान गर्नेछ’ प्रजिअ श्रेष्ठले भने। उनले प्रहरी र म्यादी प्रहरीबाट स्वेच्छिक रकम संकलन गरेर मृतक चौधरीका परिवारलाई आर्थिक सहयोग गरिने न आश्वासन दिए।विनोदकी पत्नी १९ बर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उनकी डेढ वर्षीया छोरी प्रमिसाको अध्यनको व्यवस्थापन गर्ने पनि उनले बताए। राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्य पालनका सिलसिलामा मृत्यु भएका विनोदलाई राज्यको नियम अनुसार पाउने सबै सुविधा प्रदान गर्ने बताए। प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरिया खर्चको लागि व्यक्तिगत रुपमा प्रदान गरेको २५ हजार र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले २५ हजार गरी ५० हजार रुपैयाँ बिहीबार चौधरी परिवारलाई प्रदान गरिएको छ। श्रद्धाञ्जली दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ किरिया खर्चबापत चौधरी परिवारलाई उपलब्ध गराउने घोषणा गरेका छन्। उनले चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च उपमहानगरपालिकाले बेहोर्ने पनि घोषणा गरेका छन्। चौधरीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, अञ्चल प्रहरी प्रमुख एसएसपी दिलीपबहादुर चौधरी जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधीरराज शाही लगायतका उच्च प्रहरी अधिकारी पुगेका थिए। प्रहरीको गाडीमै राखेर विनोदको शव अन्तिम संस्कारका लागि तुलसीपुरस्थित सितलपुर घाटसम्म पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनुहोस