फेरि शक्तिशाली बन्ने अभियानको नेतृत्व गर्न पाएँ :प्रचण्ड

सुचनापत्र | भदौ २७, २०७४ | १४ पटक हेरिएको

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनको भयानक पीडा भोगेको आफूले फेरि शक्तिशाली बन्ने अभियानको नेतृत्व गर्न पाएको बताएका छन्। शान्ति प्रक्रियामा आएपछि विभिन्न टुक्रामा विभाजित भएको माओवादीमा एकता र ध्रुवीकरणको प्रक्रिया सुरु भएको भन्दै उनले केही वर्षमा माओवादी फेरि पहिलो शक्ति बन्ने दावी गरेका छन्। मंगलबार काठमाडौंमा विभिन्न तीन समूहलाई प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले भने ‘यो प्रक्रिया (एकता) लाई निश्कर्षमा पुर्‍याउनेवित्तिकै समाजवादतिरको यात्रा शक्तिशाली ढंगले अगाडि बढ्छ, केही वर्षमा माओवादी सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित हुनेछ।’अहिले मधेसमा हजारौं मानिसहरु माओवादीमा प्रवेश गरेको दावी गर्दै अध्यक्ष प्रचण्डले मधेसमा उत्पीडितको मुद्दा उठाउने माओवादीमात्रै रहेछ भन्ने सन्देश प्रवाह भएको बताए। ‘मैले एउटै कार्यक्रममा १० हजारलाई प्रवेश गराएँ’, उनले भने, ‘माओवादी कमजोर भयो भने मधेस हार्छ, मधेसी आदिवासी जनजाति, मुस्लिमलाई सम्मान गर्ने माओवादी मात्रै हो भन्ने मत देखिएको छ।’ विगतमा जनयुद्ध लडेका र माओवादी केन्द्रबाट अलग भएकाहरुले ‘प्रचण्डलाई कमजोर पार्नु भनेको हामी सबै सिद्धिनु हो’ भन्ने बुझेकाले अहिले ध्रुवीकरण प्रक्रिया चलिरहेको प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस