माओवादी बैठकमा नेताहरुले भने – पार्टीभित्रैको विचौलियासँग संघर्ष गरौं

| साउन ०३, २०७४ | ३५ पटक हेरिएको

काठमाडौं : नेकपा माओवादी केन्द्रको सचिवालय बैठक मंगलबार दोस्रो दिन पनि जारी छ। पहिलो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सातवटा प्रदेश इन्चार्जले धारणा राखेपछि मंगलबार अन्य सचिवालय सदस्यहरुले धारणा राखिरहेका छन्। मंगलबार बोल्ने धेरैजसो नेताहरुले चुनावमा आफ्नै कारणले हार ब्यहोर्नुपरेको भन्दै गुटबन्दी अन्त्य र संगठन विस्तारमा जोड दिनुपर्ने बताएका छन्। पार्टी हेडक्वार्टर सदस्य तथा गृहमन्त्री जनार्दन शर्माले अहिलेको चुनावमा माओवादीले प्राप्त गरेको सिटलाई उपलब्धी स्वीकार गरी अघि बढ्नुपर्ने बताए। उनले प्रचण्ड नेतृत्वको सरकारले ल्याएको प्रधानमन्त्री कृषि परियोजना, उज्यालो नेपाल कार्यक्रम लगायतका कामको स्वामित्व पार्टीले लिन नसक्दा नतिजा राम्रो आउन नसकेको बताए। पार्टी एकता भावनात्मक एकताको रुपमा रुपान्तरित हुन नसकेको पनि उनले बताए। हेडक्वार्टर सदस्य उर्मिला अर्यालले पार्टीभित्र एक भन्दा बढी केन्द्र खडा भएको भन्दै संगठन निर्माणमा नलाग्नु सबैभन्दा ठूलो समस्या भएको बताए। सचिवालय सदस्य रामराज रेग्मीले सोमबार प्रदेश इन्चार्जहरुले पेश गरेको चुनावको रिपोर्टमा तेस्रो पार्टी भएकोमा आत्मसन्तुष्टी लिने काम भएको भन्दै असन्तुष्टी जनाए। ‘अलि राम्रोसँग समीक्षा हुनुपर्छ। चुनाव हार्नुको कारण आन्तरिक रुपमा नै खोज्नुपर्छ’ उनले भने। नेता रेग्मीले अध्यक्ष प्रचण्ड उदारवादी भएको भन्दै अब जम्बो केन्द्रीय समिति विघटन गर्नुपर्ने बताए। नेता जगबहादुर शर्माले पार्टीमा पुरानो अन्तरविरोध सकिए पनि विचौलियाहरु हावी भएको भन्दै अब तिनीहरुविरुद्ध संघर्ष गर्नुपर्ने बताए। नेता रामदीप आचार्यले नेता र कार्यकर्ता एक भएर संगठन निर्माणमा लाग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस